

सूर्यविनायक नगर अस्पतालका लागि सांसद बस्नेतले जुटाए थप ७५ लाख

भक्तपुर – नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती स्थित निर्माणाधिन नगर अस्पतालको लागि थप ७५ लाख बजेटको व्यवस्थापन भएको छ ।
यस अघि उक्त नगर अस्पताललाई एक करोड ५० लाख बजेट शुनिश्चित भइसकेको छ । यो सँगै अब उक्त अस्पताल निर्माण गर्नको लागि संघिय सरकारको अर्थमन्त्रालयले दुई करोड २५ लाख बजेट व्यवस्थापन गरिदिएको छ । अस्पतालमा एक करोड ५० लाख रकम आइसीयु वेडको लागि रहेको थियो भने आज थप भएको रु ७५ लाख अक्सिजन प्लान्ट निर्माण गर्नको लागि बजेट थप गरिएको छ ।
यस अघि सांसद बस्नेतकै पहलमा जिल्लाभरमा रु आठ करोड ९२ लाख बजेट व्यवस्थापन भएको थियो । जुन रकम निर्माणाधिन सूर्यविनायक नगर अस्पताल, भक्तपुर अस्पताल तथा नेपाल कोरिया अस्पतालको लागि बजेट छुट्याइएको छ । जसमा सूर्यविनायक नगर अस्पतालको लागि रु एक करोड ५० लाख रकम सोही रु आठ करोड ९२ लाख भित्रको रहेको छ भने सांसद बस्नेतको पहलमा आज ७५ लाख पुनः थप गरिएको हो ।
सूर्यविनायक नगर अस्पतालमा नगरपालिका तथा स्थानीय पूर्वाधार विकास कोष (सांसद कोष)बाट समेत बजेट व्यवस्थापन गरी तिव्र गतिमा निर्माण भइरहेको छ । उक्त अस्पताल यसै महिनाभित्रदेखी सञ्चालनमा आउने भएको छ ।
त्यस्तै भक्तपुर क्यान्सर अस्पतालका लागि पनि २ करोड रूपैयाँ बिनियोजन गरिएको छ । अक्सिजन प्लान्टका लागि विनियोजन गरिएको उक्त रकमका लागि पनि सांसद बस्नेतले नै अगुवाइ गरेका थिए ।

