नेकपा विवाद मन्थनः कार्यदल संयोजकसहितका सदस्यलाई बालुवाटारमा निम्तो


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मन्थनमा सक्रिय भएका छन् अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली। आइतबार बरिष्ठ नेता माधवकुमार नेपालसहित भिम रावल, सुरेन्द्र पाण्डेलगायतसँग परामर्श गरेका ओलीले सोमबार विवाद समाधान कार्यदलका संयोजकसहितका सदस्यलाई ओलीले बालुवाटारमा छलफलका निम्ति बोलाएका छन्।

प्रधानमन्त्री ओलीले सचिवालयले गठन गरेको समस्या समाधान कार्यदलका संयोजक तथा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू भिम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल र शंकर पोखरेललाई समस्या समाधानको सुझाव लिनका लागि बालुवाटारमा निम्तो दिएको बताइएको छ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ओलीको मतभेद बढेपछि नेकपाको विवादले उत्कर्ष लिएको थियो। यसअघि पनि स्थायी समिति बैठकका क्रममा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि विवाद उत्पन्न भएको थियो। त्यसलाई समाधानका निम्ति सचिवालयको बैठकले पौडेल संयोजकत्वमा कार्यदल गठन गरेको थियो जसको प्रतिवेदन सचिवालय हुँदै स्थायी समितिले पारित गरेको थियो।

उक्त प्रतिवेदनको मुख्य सुझाव प्रधानमन्त्रीले सरकार र कार्यकारी अध्यक्षले पार्टीका कामसहित महाधिवेशनका निम्ति तयारी गर्ने भन्ने थियो। सोही मेसोमा ०७७ को चैतमा महाधिवेशन गर्नुपर्ने सुझाव पनि परेको थियो।

एक तहमा विवाद टुंगो लागे पनि पछिल्ला पटकहरूमा प्रधानमन्त्री ओलीले मन्त्री हेरफेरलगायतमा परामर्श नगरेको भनी प्रचण्ड आक्रोशित थिए। सोही विषयलाई पार्टीका विविध मुद्दाका रुपमा उठान गरी विवादको जरो समातेको थियो।

प्रधानमन्त्री ओलीले कार्यदलको सुझाव र प्रतिवेदनको पृष्ठभूमीमा रहेरै अबको समस्या समाधानको बाटोलाई अगाडि बढाउने बताइन्छ। अध्यक्ष प्रचण्डले यसमा सहमति नजनाएमा प्रधानमन्त्री ओली आफैं महाधिवेशनको तयारीका निम्ति जुट्नेछन्। उनले नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने सार्वजनिक गरिसकेका छन्।

प्रतिक्रिया