

प्रचण्डलाई मुख्य नेतृत्वमा उदाउन नदिन ओलीका दुई अस्त्र

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद उत्कर्षमा पुगेपछि त्यसलाई समाधानको लयमा फर्काउन चहान्छन् बरिष्ठ नेता माधवकुमार नेपाल।
त्यसका लागि नेपालले आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुरेन्द्र पाण्डे, भिम रावललगायतका स्थायी समिति सदस्यसहित भेटेर प्रस्ताव गरे– जे जति विवाद छन् पार्टी कमिटीका बैठकमा राखेर समाधान खोजौं।
तर ओलीले प्रचण्डलाई कुनै पनि हालतमा मुख्य नेतृत्वमा उदाउन नदिने दुई राजनीतिक अस्त्र नेपालको पोल्टामा राखिदिए। पहिलो, एकता महाधिवेशनबाट अध्यक्ष अथवा अर्को चुनावबाट प्रधानमन्त्री। दोस्रोचाहिँ तत्कालिन एमालेका नेताको एकता र सहकार्यलाई अनिवार्य गरौं भन्ने प्रस्ताव ओलीको थियो। जसमा जनताको बहुदलीय जनवादको बटमलाइनमा उभिनुपर्ने ओलीको तर्क थियो।
सोही समयमा काठमाडौं जिल्लाका पूर्वएमालेहरूको भेलालाई सचिवालय सदस्य उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गरेका विवरण पनि आइरहेका थिए।
यता सचिवालयमा थोरै मात्र सदस्यका कारण अल्पमतमा रहेका ओलीले नेता नेपाललाई गरेका यी प्रस्ताव प्रचण्डलाई पार्टीमा बहुमतमा उदाउन नदिने प्रयोगका निम्ति थिए। यसको भनक ओलीले यसै पनि दिइसकेका थिए– आफूलाई बारम्बार प्रथम अध्यक्ष भनेर। प्रचण्डलाई दोस्रो अध्यक्षका रुपमा ओलीले चित्रित गरेका थिए।
‘यो विवाद नेतृत्व अर्थात् पदको थियो। यसले विस्तारै सैद्धान्तिक मोड लिन थालेको छ। सरकारलाई असहयोग गरेको भन्ने ओलीजीले प्रचण्डलाई आरोप लगाउनुभएको छ’, उच्च स्रोतले भन्यो,‘यता प्रचण्डले भने बैठकका निम्ति राखेको मागको लिखित विषय कार्यान्वयन होला या नहोला भन्ने विषयलाई प्रधान बनाउनुभएको छ।’
बहुमत सचिवालय सदस्यले बैठकको माग गर्दै ओलीलाई आजसम्मको समयसीमा दिएर लिखित पत्र बुझाएका थिए। त्यसअघि प्रधानमन्त्री पदबाट ओलीको राजीनामा अनिवार्य भएको प्रचण्डको भनाई सतहमा आएपछि विवादले उग्र रुप लिएको थियो।
ओली र उनीइतरका नेतालाई भेला गरी प्रचण्डले राखेको अनौपचारिक बैठकलाई गुटगत भेलाको संज्ञा दिइएको थियो। यति मात्र नभएर अनेक विवाद झिकेर प्रचण्डले सरकारलाई कमजोर बनाउने, पार्टी कमिटीगत हिसाबले बैठक चलाउन नसकेकोलगायतको आरोप ओलीले लगाउँदै आएका छन्।
ओलीइतरको बैठकमा प्रचण्डले पनि नेता नेपाललाई तत्कालै प्रधानमन्त्री पदका लागि प्रस्ताव गर्ने र आफू पार्टी अध्यक्षको रुपमा रहने छलफल चलाएका थिए। जसका कारण नेकपाको विवाद बढ्दै अनेक आयाममा वारपारको अवस्थामा देखिएको थियो। यसका प्रभावका हिसाबमा कर्णाली प्रदेशको विवाद, पर्साको कार्यकर्ता हत्या प्रकरण देखा परेका हुन्।

