दिल्ली पहिलोपटक आईपीएल फाइनलमा, फाइनलमा मुम्बईसँग भिड्ने


युएई – आईपीएलको इतिहासमा दिल्ली क्यापिटल्स पहिलो पटक फाइनल प्रवेश गरेको छ ।

आबुधाबीमा आइतबार राति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा १ सय ८९ रन बनाउँदै हैदराबादसामू १९० रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।

हैदराबादका लागि केन विलियम्सनले ६७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै अब्दुल समादले ३३ रन जोड्दा राशिद खानले ११ रन बनाए ।

मनिस पाण्डे २१ रनमा आउट हुँदा प्रियान गार्गले १७ रन बनाए । जासन होल्डरले ११ रन तथा कप्तान डेभिड वार्नरले मात्र २ रन बनाए ।

हैदराबादलाई सस्तैमा समेट्न दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । मार्कुस स्टोनिसले ३ तथा अक्षर पटेलले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले ७८ रनको अर्धशतकीय इनिङ्स खेले । शिम्रन हिटमायर ४२ रनमा अविजित रहे । यस्तै मार्कुस स्टोनिसले ३८ रन जोड्दा कप्तान श्रेयस एयरले २१ रन बनाए ।

हैदराबादका जासन होल्डर, सन्दीप शर्मा र राशिद खानले १र१ विकेट लिए ।

यससँगै दिल्ली आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

अब दिल्लीले उपाधिका लागि साविक विजेता समेत रहेको मुम्बई इण्डियन्ससँग खेल्नेछ । फाइनल खेल मंगलबार दुबईमा हुनेछ । हैदराबाद भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया