पीएसजीले रेम्समाथि ४-० गोलको जित, ७९ अंकसहित लिगको दोस्रो स्थानमा


काठमाडौं – फ्रेन्च लिग-१ अन्तर्गत गए राति भएको खेलमा साविक विजेता पीएसजीले रेम्समाथि ४-० गोलको जित दर्ता गरेको छ। पीएसजीको घरेलु मैदानमा भएको खेलमा नेयमार र एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै १-१ गोल गर्न सफल भए ।

त्यस्तै कप्तान मार्कविनोसको नाममा एक गोल गयो भने इटालियन मोइस किनले एक गोल गर्न सफल भए। पहिलो हाफको १३औं मिनेटमा पीएसजीलाई पेनाल्टी प्रदान गरिएको थियो। ऊक्त मौकालाई खेर नफाल्दै नेयमारले गोल गर्न सफल भए ।

त्यस्तै २४औं मिनेटमा एम्बाप्पेले पीएसजीको अग्रता दोब्बर बनाए। पहिलो हाफ २-० ले आफ्नो पक्षमा पारेको पीएसजीले दोस्रो हाफमा अर्को दुई गोल थप्यो।  ६८औं मिनेटमा नेयमारको पासमा कप्तान मार्कविनोसले गोल गर्दै घरेलु टोलीको अग्रता तेब्बर बनाए ।

खेलको अन्तिम मिनेटमा किनले गोल गर्दै पीएसजीलाई ४-० को जित दिलाए। यस जितसँगै पीएसजीको उपाधि सम्भावना जीवित नै रहेको छ। ३७ खेलमा ७९ अंकसहित पीएसजी लिगको दोस्रो स्थानमा छ ।

उता गए राति नै भएको अर्को खेलमा शीर्ष स्थानमा रहेको लिलले सेन्ट एटिनसँग गोलरहित बराबरीको खेल खेलेको छ । आफ्नै घरेलु मैदानमा जित हासिल गर्न नसक्दा लिलको ३७ खेलमा ८० अंक रहेको छ। लिग-१ को अन्तिम चरणको खेलले उपाधि विजेता टुङ्गो लाग्ने भएको छ।

प्रतिक्रिया