सांसद बस्नेतको पहलमा महामारीबाट बचाउन भक्तपुरलाई ९ करोड
भक्तपुर – नेपालमा पछिल्लो समय महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको रोकथाम एवं नियन्त्रणका लागि सरकारले जिल्ला जिल्लामा विशेष रणनीतिका साथ व्यापक मात्रामा योजना अगाडी बढाएको छ ।
यसैअनुरुप भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतको विशेष पहलमा भक्तपुरमा कोरोना संक्रमणको अवस्था भयावह हुन नदिन ९ करोड बजेटको व्यवस्थापन गरिएको छ । यससँगै अब भक्तपुमा कोरोना संक्रमितको उपचार, अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक निर्माण हुने भएका छन् ।
कोरोना महामारिबाट बचाउन तथा सरल र सहज उपचारको लागि सांसद बस्नेतको पहलमा अर्थमन्त्रालयबाट रु ८ करोड ९२ लाख बजेट व्यवस्थापन भएको छ । उक्त बजेट मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका र भक्तपुर अस्पतालको माग बमोजिम माग बमोजिम व्यवस्थापन गरिएको हो । जनतालाई महामारीबाट बचाउनका लागि भक्तपुर अस्पताल, नेपाल कोरिया अस्पताल र नवनिर्मित सूर्यविनायक नगरपालिका अस्पतालमा भेन्टिलेटर, एचडीयु, अक्सिजन प्लान्ट र अक्सिजन टयांक निमार्ण गर्न रु ८ करोड ९२ लाख बजेट स्विकृत भएको सांसद बस्नेतले जानकारी दिए ।
उक्त बजेटबाट नवनिर्मित सूर्यविनायक नगरपालिका कोरोना अस्पताललाई १३ बेडको एचडीयु वार्ड समेत बनाईने सांसद बस्नेतले जानकारी दिए । उक्त अस्पताल निर्माण सम्पन्न भएसँगै भक्तपुरका जनताले अस्पताल, अक्सिजन, आइसीयु, भेन्टीलेटरलगायतको खोजीमा भौंतारिनुपर्ने अवस्थालाई न्युनिकरण हुने भएको छ ।