समाचार प्रभावः डिल्लीबहादुरको परिवारलाई ३० हजार बढी सहयोग, पञ्चकन्या मिडियाको ५ हजार


काठमाडौं– रुखबाट लडेर ढाड भाँचिदा उपचारमा सबै सम्पत्ती खर्च गरेका दोलखाका डिल्लीबहादुर कार्कीको परिवारलाई अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री अशोक खड्कासहितको समूहले २५ हजार नगद र खाद्यान्न सहयोग गरेको छ।

कोरोनाका कारण लक डाउन र निषेधाज्ञाका क्रममा दुई महिनादेखि डेरा भाडा तिर्न नसकेका तथा श्रीमति र तीन छोरीसँग प्रताडित जीवन बिताइरहेका कार्कीको अवस्थाबारे अनलाइनन्युजले १५ बर्षिया किशोरी भक्कानिँइन्, बिमारी डिल्लीबहादुरको हरिबिजोग! शीर्षकमा समाचार प्रकाशित गरेको थियो।

अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्रि अशोक खड्कासहितको समूहले २ बोरा चामल, दाल र नुन तेल सहयोग कार्कीको डेरा बागबजार पुगेरै सहयोग गरेको थियो। खड्कासहित केशव पुरी, प्रकाश फुयाँल, उत्तम खड्का, रोहिन्द्र खड्का, रञ्जन थापा, सुमिला खड्का, दिल गुरुङ र सीपी पुडासैनीको समूहले उक्त सहयोग गरेको हो।

यस्तै, अनलाइनन्युजसहित जनप्रहार साप्ताहिक तथा अपराध खबर सञ्चाल गरिरहेको पञ्चकन्या मिडिया ग्रुप प्रालिका तर्फबाट नगद ५ हजार कोषलाई सहयोग गरिने अध्यक्ष रोशनराज पाण्डेले बताएका छन्।

‘हाम्रो समाचारका कारण कुनै एउटा मात्रै दुखी परिवारले पनि बाँच्ने आधार पाउँछ भने हामी त्यसमा हातेमालो गर्दै सहयोगका लागि पनि अघि बढ्नुपर्छ’, अध्यक्ष पाण्डे भन्छन्,‘यस्तो कारुणिक अवस्था रहेको परिवारलाई सबैको सहयोगका लागि अपिल गर्दछु।’

डिल्लीबहादुर थला परेपछि उपचारका क्रममा दोलखामा भएको सबै सम्पत्तीसहित १३ लाख रुपैंया खर्च गरेपछि सडकको बासको अवस्था आएको थियो। पत्नीले मासिक ५ हजार तथा १५ बर्षिया किशोरी छोरीले फेन्सीमा काम गरी जेनतेन चलाए पनि निषेधाज्ञापछि त्यो पनि बन्द भएपछि डिल्लीबहादुरको परिवार विचल्ली हुने अवस्थामा आएको थियो।

‘तपाईहरुको यो सहयोगले मलाई बाँच्ने रहर जागेको छ’, डिल्लीबहादुरले सहयोग लिँदै भनेका छन्,‘यो गुण कहिल्यै पनि बिर्सन सक्नेछैन।’

मानवीयताको कसी सबैले राख्नुपर्छ भन्ने मान्यताका आधारमा नै सहयोग गरिएको अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री खड्का बताउँछन्। उनी भन्छन्,‘मानव सेवा र सहयोगलाई धर्मका रुपमा नै अगाडि बढाउनुपर्छ भन्ने चिजले छोएपछि सहयोग गरेका हौं।’

 

 

प्रतिक्रिया