१५ दिनमै खुला मैदानमा ५ सय आईसीयू बेडको अस्पताल!


भारत – नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले १५ दिनमै खुला मैदानमा ५ सय आईसीयू बेडको कोरोना अस्पताल निर्माण गरिदिएका छन्। उक्त कोरोना अस्पताल दिल्लीको रामलीला मैदानमा निर्माण भएको हो।

मुख्यमन्त्री केजरीवालका अनुसार ५सय मध्ये २५० बेड शनिबार अर्थात आजदेखि सञ्चालन भएको छ भने दुई दिनपछि बाँकी २५० बेड पनि सञ्चालनमा आउनेछन्।

केजरीवालले कामदार, इन्जिनियर र डाक्टरहरुको अथक प्रयासले २४ सै घण्टा काम गरेर १५ दिनमै ५ सय आईसीयू बेडको अस्पताल निर्माण गर्न सफल भएकोमा सबैलाई धन्यवाद दिएका छन्।

आईसीयू बेडको अभाव कम गर्न रामलीला मैदानमै अस्थायी अस्पताल निर्माण गरिएको मुख्यमन्त्री केजरीवालले भनेका छन्। कोरोनाको दोस्रो लहरका कारण दिल्लीमा संक्रमितको संख्या बढिरहेको छ।

५ सय बेडको अस्पताल निर्माण भएसँगै केजरीवालले अब दिल्लीमा अक्सिजन, बेड र आईसीयूको कमी नहुने दाबी गरेका छन्। यसअघि गम्भीर बिरामीका लागि आईसीयू बेड र अक्सिजनको अभाव भइरहेको थियो।

दिल्ली राज्य सरकारले १५ दिनमै ५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेपछि सर्वत्र यसको प्रशंसा भएको छ।

प्रतिक्रिया