अक्षय शपथ!

अब ओलीको प्रधानमन्त्री यात्रा क्षयीकरण होला कि नहोला?


काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले तेस्रो पटक प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहबीच उनले शपथ ग्रहण गरेका हुन्।

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ गराएकी हुन्। साइत हेरेरै साढे २ बजे शपथको कार्यक्रम राखिएको थियो। अक्षय तृतीयाको तिथिका दिन ओलीको सत्तारोहणलाई महत्वका साथ लिइएको छ।

हिन्दू शास्त्रहरूका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरू पर्छन्। ती मध्ये एउटा महायोगको नाम हो अक्षय तृतीया। यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ।

ज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ। वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ।

गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्ने जस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्पूर्ण मानिन्छ।

हिन्दू कालगणना अनुसार चार स्वयं सिद्ध मुहूर्तहरू छन् ती मध्य एक हो ‘अक्षय तृतीया’। बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ। अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहने। ‘के प्रधानमन्त्री पदमा ओलीको यो कार्यकाल स्थायी हुनेछ?’, कतिपय प्रश्न गर्छन्,‘के उनले हार्दैनन्?’

पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकाले यस दिनलाई परशुराम जयन्तीका रूपमा पनि मनाइन्छ। परशुरामलाई विष्णुका दश अवतार मध्य एक मानिन्छ। परशुराम चिरन्जीवी छन्। उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ।

चार युगहरूमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको मानिन्छ। यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ। चार धामहरूमध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथि कै दिन खोलिन्छ।

हिन्दू धर्मप्रति पछिल्ला दिनमा आशक्ति देखाएका ओलीले प्रधानमन्त्री पदको शपथ लिनु संयोग मात्र हो कि योजनाबद्ध?

यो कुनै पनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो। वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए। कुनै पनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ।

भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो। लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरूको बलबृद्धि हुन्छ। वैशाख शुक्लपक्ष तृतीयाका दिन सातु र सर्वत दान गर्ने प्रचलन छ । दालचिनी ल्वाङ सुकुमेल अलैंची मह चिनी सख्खर र मिस्री मध्ये एक चिज लगाई सर्बत सँगै र जौको सातु दान गर्ने चलन छ।

यस दिनमा तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएर सत्तारोहण गरेका ओलीले मुलुकलाई कता लैजानेछन्? योचाहिँ हेर्न बाँकी छ।

प्रतिक्रिया