

सत्ता राजनीतिमा नयाँ मोडलाई निम्तो, जसपाले प्रधानमन्त्री दाबी गरे देउवाले के गर्लान्?

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा त्यो भन्दा बढी दलबाट प्रधानमन्त्री पदमा दाबीका लागि दिएको ७२ घन्टाको समयसीमा नजिकिँदा निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा)का कारण सत्ता राजनीतिमा नयाँ मोड आउने भएको छ।
जसपाको पदाधिकारी बैठकका क्रममा प्रधानमन्त्री पदमा दाबी गर्न सकिने नयाँ बहस सुरु भएपछि विपक्षी गठबन्धनको मुख्य दल नेपाली कांग्रेस हच्किएको छ। सरकार गठनमा चासो नदेखाएका जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्तावित गरे कांग्रेस सभापति शेरबहादुर देउवाले के गर्लान्?
‘सम्भवतः यस्तो अवस्था नआउला तर यदि त्यसो भयो भने शेरबहादुर सरकार निर्माणको काममा लाग्ने छैनन्, उनी अर्ली इलेक्शनको पक्षमा नै उभिनेछन्’, एक जना संविधानविद अनुमान गर्छन्,‘यो परिस्थिति नआउने सम्भावना ज्यादा छ।’
तर जसपा विभाजित अवस्थामा रहेका कारण आन्तरिक विवाद मिलाउन पदाधिकारी बैठकमा यो विषयमा मिहिन तरिकाले छलफल भएको छ। यसको नेतृत्व जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गरेका थिए।
त्यसो त जसपा विभाजनबाट रोक्न र अहिलेको अवस्थाबाट पार लगाउनका लागि एक बर्षभित्र चुनावमा जानेगरी नयाँ अनुहारलाई प्रधानमन्त्री बनाउँदा उपयुक्त हुने बटमलाइन डा. भट्टराईले प्रस्तुत गरेका थिए।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत बुधबार यो धारणा सार्वजनिक गरे र जसपाको एकता कायम राख्नका लागि पनि पदाधिकारी बैठकमा यहि विकल्पमाथि बहस चलाएका थिए।
‘माओवादी केन्द्रले कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउने प्रस्तावका आधारमा अगाडि बढ्ने अग्रसरता लिएको छ। यदि जसपाको यस्तो प्रस्ताव आए कांग्रेसका हातमा नै निर्णय हुनेछ’, उच्च स्रोतले भन्यो,‘प्रमुख प्रतिपक्षी दलको नेता वेटिङ प्रधानमन्त्री हुने रहेकाले देउवा सहमत हुनेमा विश्वस्त बन्ने अवस्था छैन।’
यता प्रधानमन्त्री ओलीको विकल्पमा एमालेको माधवकुमार नेपाल समूहलाई पनि निर्णायक मानिएको छ। तर आवश्यक संख्यामा राजीनामा गर्ने सांसद तयार नहुँदा विपक्षी गठबन्धन विलखबन्धनमा परेको छ। विहीबार राती नौ बजेसम्म विपक्षी गठबन्धनले विकल्प प्रस्तुत नगरे ठूलो दलको हैसियतमा ओली फेरि नियुक्त हुनेछन् र मुलुक निर्वाचनतिर जाने स्पष्ट खाका देखिनेछ।

