नेपाल-भारत सीमाः सशस्त्र प्रहरीका यस्ता छन् चुनौती

कोभिड महामारीका बेला सिमा सुरक्षा समस्या


कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि बन्द गरिएको नेपाल-भारत सीमामा खटिएको सशस्त्र प्रहरी बलले भौतिक संचरनाको अभावमा पाल र जस्तामुनि बसेर पहरा दिइरहेको अधिकारीहरूले बताएका छन्।

खुला सीमामा लुकीछिपी हुने आवागमन र तस्करी रोक्नका लागि सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीका जवानहरूले स्थायी सुरक्षा चौकीको अभावमा तराई-मधेशको चर्को घाममा घण्टौँ उभिएर पहरा दिनुपरेको गुनासो गरेका छन्।

कोरोनाभाइरसको दोस्रो लहर सुरु भएसँगै सरकारले वैशाख १९ गतेबाट नेपाल-भारत सीमा बन्द गर्दै १३ वटा नाकाबाट मात्र नेपाली नागरिकलाई प्रवेश दिने गर्ने निर्णय गरेको थियो।

सरकारको निर्णयसँगै सीमाबाट हुने आवागमन रोक्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीलाई करिब १,८८० किलोमिटर क्षेत्रमा फैलिएको नेपाल-भारत सीमामा काम गर्नु चुनौतीपूर्ण भएको सशस्त्रका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालले बताए।

‘खुला सीमा भएकाले चुनौती छ नै, तर हामीले सक्दो कोसिस गरेका छौँ। बीओपी पनि पोहोरभन्दा हामीले थपेका छौँ। भारततर्फ मात्र अहिले २१७ वटा बीओपी छन्,’ उनले भने।

भारत तथा चीन दुवैतर्फका सीमावर्ती ४० जिल्लामा सशस्त्र प्रहरीका २२४ सीमा सुरक्षा कार्यालय छन्। तिब्बतसँगको सीमामा रहेका थप सात वटा र बाँकी नेपाल-भारत सीमामा रहेका बीओपीमा गरी कुल २०,००० जनशक्ति सरकारको पछिल्लो निर्णयपछि सीमा सुरक्षामा मात्र खटाइएको अर्यालले बताए। बीबीसी

प्रतिक्रिया