इजरायली सेना र हमासबीच चर्कियाे द्वन्द्व

अहिलेसम्म ३ इजरायली र २८ प्यालेस्टिनी नागरिकको मृत्यु


काठमाडौं – इजरायल र प्यालेस्टाइनको सीमामा सोमबार रातिदेखि चर्किएको द्वन्द्व झन् बढ्दै गइरहेको छ । प्यालेस्टाइनको विद्रोही संगठन हमासले इजरायलको तेल अभिभ सहरमा लक्षित गरी १३० वटा मिसाइल प्रहार गरेको दाबी गरेको छ ।

इजरायली सेनाको हवाई आक्रमणपछि गाजाको हनादी कम्पाउन्डबाट निस्किएको धूवाँको मुस्लो तस्बिर : एएफपी
गाजा पट्टीमा रहेको १३ तले भवनमा इजरायली सेनाले आक्रमण गरी ध्वस्त बनाएपछि हमासले तेल अभिभमा रकेट प्रहार गरेको बताएको छ । गाजाको उक्त भवनमा रहेका मानिसलाई भने पहिले नै सुरक्षित स्थानमा निस्कन चेतावनी दिइएको थियो । इजरायली सेनाले हमासको सैन्य अखडालाई लक्षित गरी हवाई आक्रमण गरिरहेको बताएको छ ।

सोमबार रातिदेखि हमासले इजरायलतर्फ ३ सयभन्दा बढी रकेट प्रहार गरेको छ । इजरायली प्रहरीका प्रवक्ता मिकी रोजेनफेल्डले एएफपीसँगको कुराकानीमा हमासले हानेको रकेट तेल अभिभमा खाली बसमा खसेको बताएका छन् । ५ वर्षीया बालिकासहित ३ जना घाइते भएको पनि उनले जानकारी दिए ।

बीबीसीका अनुसार अहिलेसम्म तीन जना इजरायली र २८ प्यालेस्टिनी गरी ३१ जनाको मृत्यु भएको बताइएको छ । त्यस्तै इजरायली सेनाले गाजाका १५० ठाउँमा आक्रमण गरेको छ । अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई द्वन्द्व कम गर्न अनुरोध गरेका छन् । बुधबार यसै विषयमा छलफल गर्न स‌ंयुक्त राष्ट्र स‌ंघको सुरक्षा परिषद्को बैठक बस्दै छ ।

इजरायली रक्षामन्त्री बेन्नी गान्ट्जले भने ‘इजरायली आक्रमणको सुरुवात मात्र’ भएको बताएका छन् । चरमपन्थी समूहलाई परास्त गरेर दीर्घकालीन रुपमै आफूहरुले शान्ति पुन:स्थापना गर्ने उनको दाबी छ । त्यस्तै हमास नेता इस्माइल हानियले इजरायलले द्वन्द्वलाई बढाए प्रतिक्रियाका लागि आफूहरु तयार रहेको बताएका छन् । बीबीसी

प्रतिक्रिया