

आईपीएल २०२०ः फाइनल प्रवेशका लागि दिल्ली र हैदराबाद भिड्ने

युएई – युएईमा जारी १३ औं संस्करणको आईपीएलको फाइनल प्रवेशका लागि क्वालिफायरमा सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्स भिड्ने भएका छन् । इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई हराउँदै सनराइजर्सले दिल्लीसँगको भेट पक्का गरेको हो ।
आबुधाबीमा शुक्रबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै हैदराबादले फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । पराजित आरबिसी भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।
क्वालिफायर प्रवेश गर्ने क्रममा हैदराबादले बैंगलोरले दिएको १ सय ३२ रनको लक्ष्य १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । हैदराबादको जितमा केन विलियम्सनले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । जासन होल्डरले अविजित २४ रन बनाए ।
यस्तै मनिस पाण्डेले २४ रन जोड्दा कप्तान डेभिड वार्नरले १७ रन बनाए ।
बैंगलोरका मोहमद सिराजले २ विकेट लिए । एडम जाम्पा र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।
बैंगलोरका लागि एबी डी भिलियर्सले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै आरोन फिन्चले ३२ रन जोड्दा शिबम दुबेले ८ रन जोडे । कप्तान विराट कोहली ६ रनमा आउट भए ।
मोहमद सिराज १० रनमा अविजित रहदा नाभदिप शैनी ९ रनमा अविजित रहे ।
हैदराबादका जासन होल्डरले ३ विकेट लिए । टि नटराजनले २ तथा शाहबाज नादिमले १ विकेट लिए ।
दिल्ली पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो । तर, आईपीएलको नियममा पहिलो क्वालिफायरमा पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने मौका पाउने प्राबधान रहेको छ ।
मुम्बई फाइनल प्रवेश गरिसकेको छ । दोस्रो क्वालिफायरको विजेताले फाइनलमा मुम्बईसँग खेल्नेछ ।

