जहाँ वर्षेनी रुने प्रतिष्पर्धा हुन्छ


मेक्सिको(एजेन्सी)– उत्तर अमेरिकी देश मेक्सिकोमा हरेक वर्षको नोभेम्बर १ मा ‘द डे अफ द डेड’ अर्थात ‘मृत दिवस’ मनाइन्छ । यो दिन मानिसहरु आफ्ना पूर्वजको चिहानमा जान्छन् र पूर्वजले मनपराएका वस्तुले चिहान सजाउछन् । यतिमात्र होइन, उनीहरु डाको छोडेर धित मरुन्जेल रुन्छन् । यसलाई यहाँ उत्सवको रुपमा पनि चित्रण गरिएको छ ।

तर यो वर्ष उनीहरुले अलिक फरक किसिमले उत्सव मनाए । कोरोना भाइरसको महामारीका कारण सबै चिहान बन्द गरिएका थिए । सार्वजनिक उत्सवमा प्रतिबन्ध लगाइएको थियो । जसकारण मानिसहरुले धित मरुन्जेल रुन पाएनन् । तर मेक्सिकोकै सेन जुआन डेल रियो सहरमा हरेक वर्ष हुने रुने प्रतिष्पर्धा यो वर्ष पनि जारी रह्यो ।

हरेक वर्ष यो प्रतिष्पर्धामा लाइभ प्रस्तुति दिनुपथ्र्यो । तर यसपटक आयोजकले भर्चुअल प्रतिष्पर्धा गरे । प्रतिष्पर्धीहरुले इमेलबाट २–२ मिनेटको भिडियो आयोजकलाई पठाए । रोचक कुरा के भने अघिल्लो वर्ष भन्दा यो वर्ष रुने प्रतिष्पर्धीको संख्या दुई गुणा बढी थियो । यहाँ उत्कृष्ट रुने प्रतिष्पर्धी छनोटको परम्परा प्राचीन परम्परा मानिन्छ । जसमा कसैको मृत्युमा रुनका लागि भाडामा महिला ल्याइन्छ ।

यो रुने प्रतिष्पर्धामा क्यालिफोर्नियाकी प्रिन्सेसा केटलीना चावेज प्रथम भइन् । फिल्मकी यी कलाकारले जिन्दगीमा कहिल्यै रोएकी थिइनन्, तर यो प्रतिष्पर्धामा मज्जाले रोइन् । ‘मलाई कोरोनाले रुन बाध्य बनायो’ उनले भनेकी छन् । उनले एक अज्ञात चिहानमा गएर भिडियो बनाएकी थिइन् । जसका लागि उनले अनुमति पनि लिइन् । प्रतिष्पर्धामा ५८ वर्षीया सिल्वेरिया बाल्डेरास रुबियो दोस्रो भइन् । ‘मैले अघिल्लो रात एक महिला रुँदै गरेको देखेकी थिएँ । उनको त्यही शैली अपनाउँदा दोस्रो भएँ’, उनले भनेकी छन् ।

समसायिमक भिडियो ब्रेन्डा अनाकेरेनको रह्यो । जसे सन् २०२० का बारेमा रोएको भिडियो बनाएकी थिइन् । ३१ वर्षीया उनले यो वर्षको त्रासदीमा आधारित रहेर आफूले भिडियो बनाएको बताइन् । पर्यटन ब्यूरोका प्रमुख एजुअर्डो गुइलेनका अनुसार मृत्युमा मात्र होइन हास्ने कुरा पनि मेक्सिकोको संस्कृतिमा पर्दछ ।

कैयौं प्रतिष्पर्धीले निकै नाटकीय भिडियो थिए । कैयौंले चिहानमा बसेर छाती पिटीपिटी रोएको भिडियो बनाएका थिए । कसैले हाँस्यास्पद तरिका पनि छाने । आयोजकका अनुसार आगामी वर्ष यो प्रतिष्पर्धामा पुरुषलाई पनि सहभागी गराइनेछ ।

प्रतिक्रिया