

मुख्यमन्त्री शाहीको संयोजकत्वमा कोभिड व्यवस्थापनार्थ निर्देशक समिति गठन

कर्णाली – कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले कोभिड-१९ नियन्त्रण तथा व्यवस्थापन र निर्देशन, समन्वय तथा एकीकृत व्यवस्थापनको कार्यलाई कर्णाली प्रदेशभर प्रभावकारी बनाउने उद्देश्यले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा कोभिड रोग नियन्त्रण/व्यवस्थापन निर्देशक समिति गठन गरेको छ ।
सामाजिक विकास मन्त्रालयको सचिव सदस्य सचिव रहने उक्त समितिमा आन्तरिक मामिला तथा कानूनमन्त्री, सामाजिक विकासमन्त्री, १० जिल्लामा रहेका सदरमुकामस्थित पालिकाका प्रमुख वा अध्यक्ष, प्रदेश सङ्कट व्यवस्थापन केन्द्रका सदस्य सचिव, कर्णाली प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक र सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी सदस्य रहनुभएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा योजनामन्त्री विमला केसीले जानकारी दिईन् ।
बैठकले कोरोना नियन्त्रण तथा व्यवस्थापनको कार्यलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा प्रभावकारी बनाउन एवं निर्देशन, समन्वय तथा एकीकृत व्यवस्थापन गर्न सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वको छ सदस्यीय प्रदेश अस्पताल सुर्खेत कोभिड-१९ नियन्त्रण/व्यवस्थापन निर्देशक समितिसमेत गठन गरेको छ ।
समितिमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी, कानून मन्त्रालयका सचिव, प्रदेश सङ्कट व्यवस्थापन केन्द्रका सदस्य सचिव, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख सदस्य र प्रदेश अस्पतालका निर्देशक सदस्य सचिव रहने प्रवक्ता केसीले बताईन् ।
उनका अनुसार बैठकले सामाजिक विकास मन्त्रालयलाई कोभिड-१९ को नियन्त्रण/व्यवस्थापन कार्यक्रमका लागि कर्णाली प्रदेश मन्त्रिपरिषद्को पूर्ववत् निर्णयानुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले रु १० करोडका दरले थप गर्दै उपलब्ध गराउने निर्णय गरेको छ ।
प्राविधिक जनशक्ति सेवा करारमा छनोट गर्ने कार्यविधि, २०७६ ९संशोधन० को दफा २१ को उपदफा (१) मा व्यवस्था भएअनुसार बाधा अड्काउ फुकाई छनोट प्रक्रियामा रहेको पाचौँ तहका स्वास्थ्यकर्मीको छनोटका लागि अन्तरवार्ताबाहेकको योग्यताक्रमका आधारमा तयार गरिएको संक्षिप्त सूचीबाट विज्ञापन गरिएको सङ्ख्याभन्दा नबढ्ने गरी करारमा कर्मचारी नियुक्ति गर्न सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।

