

भ्याक्सिन कमिसन प्रकरण : सरकारलाई विवेकशील साझाको प्रश्न- व्यापारीका टाउकोमा दोष थोपर्दै सरकार उम्कन मिल्छ ?

काठमाडौं – विवेकशील साझाले भ्याक्सिन कमिसन प्रकरणबारे सरकारमाथि ४ प्रश्न उठाएको छ ।
विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै खोप खरिद प्रक्रियामा अवरोध गर्न व्यापारीमाथि किन कारबाही गरिएन भन्दै प्रश्न गरेका छन् ।
व्यापारीहरूको थाप्लोमा सम्पूर्ण दोष थोपरेर सरकार आफू चाहिँ चोखिने प्रयत्न गरिरहेको विवेकशील साझाको निष्कर्षमा छ । खोप प्रकरणमा संलग्न सबैमाथि छानबिन गरी दोषी देखिएमा कडा कारबाही गर्न उसको माग छ । ‘तर सरकार त्यतिमै उम्किन पाउँदैन, यी सबै घटनाको उसले जिम्मेवारी लिनुपर्छ। विवेकशील साझा पार्टी माथि उल्लेखित चार प्रश्नहरूको स्पष्ट र चित्तबुझ्दो जवाफ तत्काल नागरिक समक्ष पेस गर्न सरकारसँग माग गर्दैछ’ विज्ञप्तिमा भनिएको छ ।
यस्ताे छ विवेकशील साझाका ४ प्रश्न:
१) महामारीजस्तो राष्ट्रिय र विश्वव्यापी सङ्कटका बेला यदि केही व्यापारीकै कारण खोप खरिद तथा आयातजस्तो संवेदनशील प्रक्रियामा अवरोध सिर्जना भएको हो भने ती व्यापारीमाथि किन कारबाही गरिएन ?
२) केही व्यापारीका अगाडि निरीह देखिएर उनीहरूको टाउकोमा दोष थोपर्दै भयावह स्थितिबाट सरकार उम्कन मिल्छ ? फेरि, त्यस्ता व्यापारीहरू सरकार हाँक्ने नेताहरुबाटै संरक्षित छैनन् र ?
३)भारतीय उत्पादकबाट खोप ल्याउन बिचौलियाले रोकेको र त्यो अवरोध सल्टाउन कठिन भएकै हो भने अन्यत्रबाट खोप ल्याउने प्रक्रिया समयमै अघि बढाउन चाहिँ सरकारलाई कसले अवरोध गर्यो रु
४) प्रधानमन्त्री केपी ओलीले तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप दिलाउने घोषणा गरेका थिए। मानिलिऊँ, कसैले अवरोध नगरेर भारतबाट थप ५० लाख डोज खोप सहजै आएको भए पनि त्यो प्रधानमन्त्रीले घोषणा गरे अनुरूप बाँकी नेपालीलाई खोप लगाउन पर्याप्त हुने थिएन। बाँकी खोप ल्याउन चाहिँ सरकारले हालसम्म के गरेको छ ?

