

राष्ट्रियसभा उपनिर्वाचनः माधव नेपालका उम्मेदवार देवकोटाद्वारा माओवादीको चुनाव चिन्ह अस्वीकार

काठमाडौं– राष्ट्रियसभाको उपनिर्वाचनमा कांग्रेस–माआवादी केन्द्र र नेता माधवकुमार नेपालका संयुक्त उम्मेदवार डा. खिमलाल देवकोटाले गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्ह अस्वीकार गरेका छन्।
शुक्रबार मनोनयन दर्ता गर्दै उनले निर्वाचन आयोगसँग चुनाव चिन्ह कलम दिनका लागि आग्रह गरेका छन्। आफू स्वतन्त्र उम्मेदवार रहेको भन्दै उक्त चुनाव चिन्ह माग गरेका हुन्।
यसअघि संयुक्त उम्मेदवारमा सहमति गर्ने क्रममा नेता नेपालले देवकोटा गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्ह लिन तयार रहेको बताएका थिए।
माओवादीका नेताहरुसँगै मनोनयन दर्ताका लागि पुगेका देवकोटाले कलम चुनाव चिन्ह माग गरेको निर्वाचन आयोगका अधिकारीले बताएका छन्।
यता, सूर्य चुनाव चिन्हबाट एमालेका आधिकारिक उम्मेदवारका रुपमा गृहमन्त्री रामबहादुर थापा बादलले मनोनयन दर्ता गर्नेछन्।

