विराटनगरमा ७ र पोखरामा ४ गरी ११ संक्रमितको मृत्यु


विराटनगर – कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विराटनगरमा बुधबार राति र बिहीबार गरी सात जनाको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा दुई र न्युरो अस्पतालमा एकजना गरी सात जना संक्रमितको मृत्यु भएको हो ।

कोसी अस्पतालमा विराटनगर महानगरपालिका-१० का ५७ वर्षीय पुरुष, मोरङको जहदा गाउँपालिका-५ का २५ वर्षीय युवक, सुनसरीको कोसी गाउँपालिका-४ का ६५ वर्षीय पुरुष र विराटनगर महानगरपालिका-१३ का ५० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।

अस्पतालका अनुसार संक्रमण देखिएपछि २५ वर्षीय युवकलाई वैशाख १९ गते भर्ना गरिएको थियो भने ६५ वर्षीय पुरुषलाई वैशाख २२ गते भर्ना गरिएको थियो । ५० वर्षीय पुरुषको कोसीमै बिहीबार बिहान ११ बजेतिर मृत्यु भएको हो ।

त्यस्तै विराटनगरको नोबेल शिक्षण अस्पतालमा पनि कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना महिला र एकजना वृद्ध पुरुष छन् । पाठेघरमा देखिएको समस्याका कारण अत्याधिक रक्तश्राव हुँदा विराटनगर-५ को चाखालकी ३७ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको हो ।

नोबेलमै उपचारका लागि भर्ना गरिएका विराटनगर महानगरपालिका-१९ का ६४ वर्षीय पुरुषको पनि बुधबार राति मृत्यु भएको हो ।

यसैगरी विराटनगरकै न्युरो अस्पतालमा मोरङको रंगेली नगरपालिका-३ का २६ वर्षीय युवकको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएपछि १७ दिनदेखि उनी अस्पतालमा उपचाररत थिए । उनको बुधबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो । उनको बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैबीच कास्कीको पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार बुधबार राति र बिहीबार बिहान गरी कुल ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन जना र म्याग्दीको धौलागिरि गाउँपालिकाका एकजना छन् ।

चरक अस्पतालमा पोखरा महानगरपालिका-३ का ८७ वर्षीय पुरुषको वैशाख २२ गते बुधबार मृत्यु भएको उनले बताए । उनीमा वैशाख २१ गते संक्रमण पुष्टि भएको थियो । मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका-२९ का ४१ वर्षीय पुरुष, वडा नम्बर १७ की ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरि गाउँपालिका-२ की ७२ वर्षीया महिलाको मृत्यु भएको उनले बताए ।

डा. शर्माका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार बिहान ६ः५५ बजे मृत्यु भएको हो । उनीमा वैशाख २२ गते बुधबार संक्रमण पुष्टि भएको थियो । पोखराकै ७३ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । उनीमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो ।

म्याग्दीकी ७२ वर्षीया महिलाको बिहीबार बिहान ७ः१० मृत्यु भएको डा. शर्माले बताए । उनीमा वैशाख २२ गते संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया