बैतडीमा शव बोकेको जिप दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो


बैतडी – बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। चार जनाको घटना स्थलमा र दुई जनाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको हो।

पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षका खेमसिंह भण्डारी र जिप चालक तेजबहादुर बोहराको मृत्यु भएसँगै घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको हो।

त्यस्तै मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी र ४० वर्षीय दीपक भण्डारी छन्।

दुर्घटनामा जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको हो भने चालक बोहरा र खेमसिंहको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले दुर्घटनामा परी अन्य पाँच जना घाइते भएको बताए। उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल पठाइँदैछ।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि ल्याउँदै गरेको से१ज १२३ नम्बरको बोलेरो जिप मङ्गलवार दुर्घटनामा परेको हो।

जिपमा मृतक वडा सदस्यको शवसहित ११ जना रहेका थिए। जिप सडकबाट करिब ५०० मिटर तल खसेको जनाइएको छ। साँघुरो घुम्तीमा मोड्ने क्रममा ब्याक गर्दा जिप दुर्घटनामा जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया