

नेपाल सुपर लिगः बुटवल लुम्बिनी र काठमाडौं रेजर्स भिड्दै

काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज हुने खेलमा बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स प्रतिस्पर्धामा उत्रँदै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा बुटवल र काठमाडौं साँझ साढे ५ बजे आमनेसामने हुनेछन्।
तीन खेलमा १ जित र २ बराबरी खेल्दै ५ अंक जोडेको बुटवल अंकतालिकाको तेस्रो स्थानमा छ। आजको खेलमा जित निकाल्दै शीर्षस्थानमा उक्लने लक्ष्य बुटवल लुम्बिनीको हुनेछ। त्यस्तै काठमाडौं रेजर्सले ३ खेलबाट १ जित, १ हार र १ बराबरी खेल्दै ४ अंक जोडेर तालिकाको पाँचौ स्थानमा छ।
आजको खेलमा जित निकालेको खण्डमा शीर्ष दुईमा रहेका विराटनगर सिटी एफसी र धनगढी एफसीसँग काठमाडौंको अंक बराबरी हुनेछ। शीर्ष दुईमा रहेका विराटनगर र धनगढीको समान ७ अंक छ।
प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, पोखरा थण्डर्स बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी फुटबल क्लब, एफसी चितवन, काठमाडौं रेजर्स र ललितपुर सिटी फुटबल क्लब गरी ७ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ।

