

छिनुवाखोला हत्याकाण्डका तीन अभियुक्त पक्राउ, युवती जिस्काउँदा युवकको हत्या

काठमाडौं – प्रहरीले छिनुवाखोला हत्याकाण्डका तीन अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीले इस्मा गाउँपालिका–१ छिनुवाखोलामा भएको हत्यामा संलग्न अभियुक्तलाई आज सार्वजनिक गरेको हो।
प्रहरीले सोहि गाउँपालिका छिनुवामा होटल सञ्चालन गरेर बस्ने २३ वर्षीय मोतीबहादुर कुँवरको हत्यामा संलग्न इस्मा गाउँपालिका–१ कै सन्तोष कुमाल, रमेश कुमाल र सुशील कुमाललाई पक्राउ गरेको छ।
गुल्मी प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले कुँवरको हत्यामा संगल्न ३ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको जानकारी दिए। कुँवरलाई गत २१ भदौ राति कुटपिट गरिएको थियो। अर्को बिहान उनको मृत्यु भएको थियो।
तिजमा मेला हेर्न जाँदा युवती जिस्काउँदाको रिसका कारण यो घटना भएको प्रहरी अनुसन्धानबाट खुलेको एसपी भट्टराईले बताए।
एसपी भट्टराईका अनुसार उनीहरुले प्रहरीसँगको बयानमा हत्या गरेको स्वीकार गरेका छन्।
अभियुक्तहरु तीनै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी घटनाको बारेमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

