नाराबाजीकैबीच मुख्यमन्त्री कार्यालयमै शंकर पोखरेलको सपथग्रहण


काठमाडौं – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको सपथ लिएका छन्। पोखरेलले मुख्यमन्त्रीको कार्यालयमै पद तथा गोपनियताको सपथग्रहण लिएका हुन्।

प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि पोखरेललाई मुख्यमन्त्री कार्यालयमा सपथग्रहण गराइएको हो। प्रदेश प्रमुख धर्मनाथ यादव सपथग्रहण गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएका थिए।

विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्ताले बाहिर नाराबाजी गरेका थिए। नाराबाजीकैबीच सपथग्रहण भएको हो।

आइतबार बिहान पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिई, बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा सरकार गठनका लागि ४१ सांसदको हस्ताक्षर बुझाएका थिए।

सोही बमोजिम प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

यता, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेललाई नियुक्ति गरिएकोमा विपक्षी गठबन्धनका नेताहरुले आपत्ति जनाएका छन्। अल्पमतमा परिसकेका पोखरेललाई नियुक्त नगर्न माग गर्दागर्दै नियुक्त गरिनु असंवैधानिक भन्दै आपत्ति जनाएका हुन्।

४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख शाहलाई भेटेर उनीहरुले सरकारको नेतृत्वमा दावी गर्दै पोखरेलको सपथग्रहण रोक्न माग गरेका थिए।

प्रतिक्रिया