अमेरिकी चुनावः वाइडेन जित नजिक, राष्ट्रपति ट्रम्पद्वारा मुद्दा दायर


वासिंगटन –अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मतगणना तत्काल स्थगित गर्न माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन्। प्रतिपक्षी उम्मेदवार जोय वाइडेनका लागि जितका लागि ६ इलेक्ट्रोल मतमात्र आवश्यक रहेको अवस्थामा ट्रम्पले अदालतमा मुद्दा दायर गरेको जनाइएको छ ।

ट्रम्प क्याम्पेनका तर्फबाट मिसिगन राज्यको मत गणना स्थगित गर्न आदेशको माग गर्दै मुद्धा दायर गरिसकिएको छ भने पेन्सिलभेनिया राज्यको मत गणना चलिरहदा त्यहाँ पनि स्थगित गर्न माग गर्दै अदालत जाने तयारी भएको ट्रम्प क्याम्पेनले जनाएको छ ।

राष्टपति निर्वाचनमा मत गणना जारी रहंदा केही राज्यहरुमा विपक्षी जो वाइडेनले झिनो मतान्तरले अग्रता लिन थालेका छन् । अघिल्लो निर्वाचनमा ट्रम्पले जितेका राज्यहरुमध्ये विसकन्सनमा वाइडेन विजयी भएको र मिचिगन राज्यमा ९५ प्रतिशतभन्दा बढी गणना भइसक्दा वाइडेन एक प्रतिशत मतले अगाडि देखिएपछि ट्रम्पका तर्फबाट मतगणना स्थगित गर्न मुद्धा दायर भएको हो ।

यसैबीच मतगणनाको पछिल्लो तथ्यांकअनुसारबाइडेन जीतको नजिकै पुगेका छन् । फक्स न्यूजको पछिल्लो रिपोर्टअनुसार बाइडेनले २६४ इलेक्टोरल सिट जितेका छन् । राष्ट्रपति ट्रम्पले २१४ सिट जितेका छन् ।

बाइडेनलाई अब राष्ट्रपति बन्न केवल ६ इलेक्टोरल सिट सिट चाहिन्छ । ४ सय ७८ इलेक्टोरल सिटको नतिजा आइसकेको छ र ६० इलेक्टोरल सिटको नतिजा आउन बाँकी छ । बाइडेनको लोकप्रिय ७ करोड १५ लाखभन्दा माथि पुगिसकेको छ । ट्रम्पको लोकप्रिय मत भने ६ करोड ८२ लाखभन्दा बढी भएको छ । बाइडेन लोकप्रिय मतमा पनि ट्रम्पभन्दा झण्डै ३३ लाख मतले अगाडि छन् ।

अब २० इलेक्टोरल सिट भएको पेन्सलभेनिया, १५ इलेक्टोरल सिट भएको नर्थ क्यारोलिना, १६ इलेक्टोरल सिट भएको जर्जिया, ६ इलेक्टोरल सिट भएको नेवादा र ३ इलेक्टोरल सिट भएको अलास्का गरी कूल ६० इलेक्टोरल सिटको नतिजा आउन बाँकी छ । यीमध्ये नेवादामा मात्र बाइडेन अगाडि छन् । बाँकी सबै राज्यमा ट्रम्प अगाडि छन् । नेवादामा जित हात पारेको खण्डमा वाइडेन अमेरिकाका नयाँ राष्ट्रपतिमा विजयी हुनेछन् ।

प्रतिक्रिया