बालुवाटारलाई घुर्क्याएपछि भगवतीलाई एमाले सुनसरी इञ्चार्ज उपहार, जिल्ला नेताहरूको अर्कै तयारी


काठमाडौं– १० वैशाखमा नेकपा एमालेले जिल्ला इञ्चार्जलगायतको जिम्मेवारी दिने क्रममा सुनसरीमा भगवती चौधरीलाई सह–इञ्चार्जमा राखिएको थियो। तर, त्यसमा असन्तुष्ट चौधरी बालुवाटारमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुर्क्याउँदै रुँदै बैठक छाडेर हिँडेकी थिइन्।

१० वैशाखमा भएको निर्णयमा उनलाई सह–इञ्चार्जको जिम्मेवारी दिइएको थियो। तर, एमालेले अन्तरपार्टी निर्देश (अपानि) जारी गर्दा भने चौधरीलाई इञ्चार्जका रुपमा पदस्थापन गरिएको जनाएको छ।

चौधरी थपिँदा सुनसरीमा दुई जना इञ्चार्ज भएका छन्। बालुवाटारमा भएको महाधिवेशन आयोजक कमिटीले जगदिश कुसियतलाई इञ्चार्जको जिम्मेवारी दिएको थियो।

पार्टीको अपानिमा चौधरीलाई इञ्चार्ज बनाउँदै सहकार्य गर्नका लागि निर्देशन आएपछि सुनसरीका नेताहरूले भने अर्कै तयारी गरेका छन्। उनीहरूले चौधरीलाई इञ्चार्ज मान्न नसकिने पत्र केन्द्रमा पठाउन लागेको बताइएको छ।

सह–इन्चार्ज तयब हुसेन, अध्यक्ष रेवती रवण भण्डारी, उपाध्यक्ष निलम खनाल, सचिव पर्शुराम यादव, संगठन विभाग प्रमुख योग्यराज खड्कालगायतले चौधरीबाट सुनसरी नचल्ने भन्दै केन्द्रलाई पत्र लेख्न लागेका हुन्। उक्त पत्रको उचित सम्बोधन नभए जिल्लाका पदाधिकारीले सामूहिक राजीनामा दिने तयारी गरेका छन्।

पार्टीका १८ जना राष्ट्रिय प्रतिनिधि सदस्यहरुले पनि सोहि चेतावनी दिएका छन्। खेमराज पोख्रेल, ओम कोइराला, लक्ष्मी गौतम, मोतिराज सुनुवार, विजय राई, सर्वधोज साँवा, मुरारी सुबेदी, लस्करी अन्सारी, सरोज पोखरेल, युवराज गौतम, चन्द्र न्यौपानेलगायतले जगदिश कुसियत जस्तो कुशल नेतृत्वकर्तालाई पार्टीले घात गर्न नहुने चेतावनी दिएका छन्।

कुसियत एमाले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् भने चौधरी वैकल्पिक केन्द्रीय सदस्य। दुवैको समान हैसियत हुन नसक्ने र पार्टी चलाउनका निम्ति चौधरी सक्षम नेतृत्व नभएको जिल्लाका नेताको भनाई छ।

प्रतिक्रिया