गोरखामा कोरोना संक्रमित पुरुषले गरे आत्महत्या, ९२ वर्षीया वृद्ध झुण्डिएको अवस्थामा भेटिए


काठमाडौं – गोरखामा एक कोरोना संक्रमित पुरुषले होम आइसोलेसनमै आत्महत्या गरेका छन्। गोरखा नगरपालिका–१४ याङकोटका ३६ वर्षीय सुब्बा उप्रेतीले आफ्नै घरको कोठाभित्र सलको पासो लगाएर आत्महत्या गरेका हुन्।

उनलाई गत १० वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो। २६ चैतमा भारतबाट घर फर्केका उनले गत ७ वैशाखमा पीसीआर परीक्षण गरेका थिए।

एकसातादेखि होम आइसोलेसनमा बसेका उनले गएराति आठबजेतिर झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

उनको पीसीआर जाँच गर्दा रिपोर्ट पोजिटिभ देखिएपछि परिवारका अन्य सदस्यको पनि स्वाब परीक्षण गरिएको थियो। जसमा बाबु, आमा, भाइ, श्रीमती र करिब डेढ वर्षका छोराको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ र आफ्नो मात्रै पोजिटिभ आएपछि मानसिक तनावमा परेको उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ।

कोरोना पुष्टि भएका कारण उनको शव पोष्टमार्टम नगरी नेपाली सेनाले व्यवस्थापन गरिसकेको खनालले बताए।

त्यस्तै खनालका अनुसार गोरखाका ९२ वर्षीय वृद्धले समेत झुण्डिएर आत्महत्या गरेका छन्। शहीदलखन गाउँपालिका–७ डाँडागाउँका क्षेत्रनारायण श्रेष्ठले नाम्लोको पासो लगाएर झुण्डिएर आत्महत्या गरेका खनालले बताए।

बुधबार बिहान झुण्डिएको अवस्थामा श्रेष्ठको शव भेटिएको थियो। उनले आत्महत्या गर्नुको कारण केही खुलेको छैन।

श्रेष्ठको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया