भारतसँग सीमा जोडिएको नाकाबाट प्रवेश निषेध, नेपालीको लागी भण्टाबारी नाका खुला


सुनसरी – कोभिड १९ नियन्त्रणको लागी भारतसँग सीमा जोडिएका नाकाबाट सुनसरीमा बुधबारदेखि प्रवेश निषेध गरिएको छ ।

जिल्ला प्रशासनले भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समन्वय गरेर प्रवेश निषेध गरिएको हो । नेपाली नागरिकको हकमा कोशी गाउँपालिका-८ मा पर्ने भण्टाबारी नाकामात्र खुला गरिएको छ ।

जिल्ला प्रशासनले भण्टाबारी नाकाबाट प्रवेश गर्ने नेपाली नागरिकका लागि हेल्प डेस्क राखिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

प्रजिअ ढकालकाअनुसार खुला सीमा नाकाका कारण मानिसको आवागमन बढ्दा कोरोना संक्रमणको दर वृद्धि भएको छ । खुला सिमाना भएकैले जसलाई जतिखेर आउन मन लागे आउने र जान मन लागे जाने भएकाले पहिलेको भन्दा कडा निगरानी गर्न थालिएको प्रजिअ ढकालले बताए ।

सीमा क्षेत्रमा मानिसको आवागमन रोक्न ६ सय बढीको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरान, इटहरी लगायतका क्षेत्रमा रहेको सशस्त्र र जनपदका जनशक्तिलाई व्यवस्थापन गरी सीमा क्षेत्रमा परिचालित गरिएको उनले बताए ।

 

प्रतिक्रिया