नेकपा मालेले सरकारलाई दियो ९ बुँदे सुझाव


काठमाडौं – नेकपा मालेले कोरोना संक्रमणको अवस्था भयावह हुँदै गएको जनाउँदै सर्वसाधारण जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा उपलव्ध गराउन सरकारलाई ९ बुँदे सुझाव दिएको छ ।

नेकपा मालेका महासचिव सीपी मैनालीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो सुझाव दिएका हुन् ।

यस्ता छन् सुझाव:
१) नेपालका सबै अस्पतालहरुमा आवश्यक जनशक्ति सहित बेड, औषधी, भेन्टीलेटर, आइसियु तथा अक्सिजनको पर्याप्त ब्यवस्था मिलाउन सरकारले सर्वोच्च प्राथमिकता देओस् तथा कोरोना जाँच तीब्र बनाइयोस् ।

२) कोरोना पीडित सर्वसाधारणहरूको निम्ति सहज, सुलभ र मापदण्डको आधारमा निशुल्क उपचारको ब्यवस्था गरियोस् ।

३) कोरोना विरुद्ध खोपको ब्यवस्थापन गर्न अति-कोरोना प्रभावित मुलुक-भारतको भरमा रहेर ‘केही गर्दै गरेको’ भ्रम जनतामा छर्नुभन्दा सहयोगको प्रस्ताव गर्ने सङ्घीय रुस, समाजवादी चीन, जापान आदिसँग सहकार्य गर्न सरकार सकृय बनोस् ।

४) लकडाउन वा निषेधाज्ञा लगाए पछि त्यसबाट सबभन्दा बढी प्रभावित हुने मजदुर, विधार्थी तथा शहरीया गरिबहरुको निम्ति गाँस–बास तथा औषधी उपचारका निम्ति सरकारले समुचित ब्यवस्था गरोस् ।

५ ) नेपाल-भारत सिमानालाई कडाइका साथ नियमन गरियोस् ।

६ ) भारत प्रवासबाट र वैदेशिक रोजगारीबाट आउने नेपाली नागरिकको निम्ति प्रबेश-कालदेखि नै स्वास्थ-सुरक्षाको राम्रो ब्यवस्था गर्न र नेपालमै आवश्यक रोजगारीको ब्यवस्था गरी युवा जनशक्तिलाई मुलुकभित्रै सकृय बन्ने वातावरण निर्माण गर्न उच्च प्राथमिकता दिओस् ।

७) आगामी आ.व.२०७८/०७९ को बजेटमा कृषिको विविधीकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै कृषि-उत्पादनमा आत्म-निर्भर हुने नीति तथा बजेटको ब्यवस्था गरियोस् ।

८) भुक्तभोगी नेपाली जनतामा भाइरस-संक्रमण सम्बन्धी सरकारका घोषित स्वास्थ-मापदण्डहरुको पालना गर्नुका साथै ब्यक्तिगत सावधानी र सरसफाइमा आवश्यक ध्यान दिन आह्वान गर्छ ।

९) पार्टी केन्द्रीय कमिटी नेकपा माले का नेता गण र सम्पूर्ण पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक जनचेतना जगाउन तथा प्रभावित ब्यक्ति तथा परिवारलाई सहयोग पु¥याउने हेतुले जनसेवा सम्बन्धी जन कार्यमा लाग्न समेत निर्देश गर्दछ ।

प्रतिक्रिया