

रोल्पामा भीषण आगलागी : गोठसहित ४० घर जले, गाउँ पूरै शोकमग्न

रोल्पा – रोल्पाको पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि जिल्लाको नुवागाउँबाट सुरु भएको भीषण आगलागीबाट पिराले गाउँका २५ घर जलेर नष्ट भएको हो ।
त्रिवेणी-२ नुवागाउँस्थित सामुदायिक वनबाट फैलिएको आगो दुई दिनपछि पिराले पुग्दा पनि नियन्त्रणमा आइसकेको छैन । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बुधबार आगलागी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।
घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले भने, ‘पूरै गाउँ शोकमग्न छ । यहाँका सबै घर (२५ घर) आगोमा परेर जलेका छन् । मानिसहरुको घर र सम्पत्ति सबै खरानी भएको छ । हालसम्म गोठसहित ४० वटा घर जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आगोमा परी १६ वटा बाख्रा, ७ वटा गाई, १ वटा बंगुर जलेर मरेका छन् । आगोले खानेपानीका पाइप र बिजुलीका तारसमेत जलेर नष्ट भएको छ ।
तीन दिनदेखि लागेको आगो नियन्त्रणमा लिन स्थानीयले भरमग्दुर प्रयास गरे पनि सकेका थिएनन् । आगो निभाउन खोज्दा पनि बेस्सरी हावा लागेकाले सम्भव नभएन स्थानीय बताउँछन् । एक जंगलबाट फैलिएको आगो त्यसपछि दर्जन सामुदायिक वनमा फैलिएको छ । त्रिवेणीबाट फैलिएको आगो छिमेकी गाउँपालिका रुन्टीगढीसम्म फैलिएको छ ।
सबैभन्दा बढी क्षति पुगेको पिराले गाउँमा प्रजिअ, गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधि र रेडक्रसका प्रतिनिधि राहत लिएर घटनास्थल पुगेका छन् । निरन्तर आगलागी भएकाले गाउँभरी धुँवा र तुँवालो फैलिएको छ ।
आगलागी पीडितको उद्धार गर्न र आगो नियन्त्रण गर्न स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ । प्रहरीका अनुसार तीन दिनभित्र २ सय हेक्टरभन्दा बढी क्षेत्रमा आगो फैलिएको छ ।

