काठमाडौँमा वैशाख महिनाभर लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय, आन्तरिक हवाइ उडान तत्काल बन्द नगर्ने


काठमाडौँ – सरकारले राजधानी काठमाडौँ उपत्यकामा वैशाख महिनाभर निषेधाज्ञा (लकडाउन) गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले उपत्यकाका तीनै वटा सीडीओ कार्यालयले गर्ने भनेको साता दिनको लकडाउनमा एक साता थपेर १५ दिन गरेको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । मन्त्री ज्ञवालीका अनुसार कोभिड–१९ को अवस्था हेरेर लकडाउनको अवधि थपघट हुनसक्ने छ ।

बैठकले आन्तरिक हवाइ उडान तत्काल बन्द नगर्ने निर्णय गरेको पनि उनले बताए । स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै आन्तरिक उडान सुचारु राख्ने निर्णय गरेको उनको भनाइ थियो । देशभर सबै ठाउँमा लकडाउन नहुने स्थितिमा नागरिकलाई भैपरी आउँदा आवत(जावत सहज बनाउन हवाइ उडान तत्काललाई बन्द नगरिएको उनले जानकारी दिए । तर, हवाई यात्रुहरुले स्वास्थ्यसम्बन्धी मापदण्डहरु भने कडाइपूर्वक पालना गर्नुपर्ने मन्त्री ज्ञवालीले बताए ।

यस्तै सरकारले अन्तर्राष्ट्रिय हवाइ उडान पनि बन्द नगर्ने भएको छ ।

भारतमा कोरोना भाइरसको संक्रमण बढेर नेपालमा पनि फैलिरहेको र सीमा नाकामा बन्द गरिनुपर्ने आवाज उठ्दै आएपनि सरकारले तत्काल सीमा नाका बन्द नगर्ने भएको छ ।

प्रतिक्रिया