आईपीएलकै बेला फस्टायो सट्टेबाजी, ६ भारतीय र ५ नेपालीसहित ११ जना पक्राउ


काठमाडौं – भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट ६ भारतीय र ५ नेपालीसहित ११ जनालाई पक्राउ गरी सार्वजनिक  गरेको छ ।

पक्राउ पर्नेमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. २ घर भई काठमाडौं वनस्थली बस्ने वर्ष ३१ का अशोक सिंह, भारत बिहार सितामढी जिल्ला बर्गिदिया घर भई हाल ठमेल बस्ने २९ वर्षका बिक्रम कुमार जैसवाल, भारतनै घर भई जावलाखेल बस्ने ३१ वर्षीय अंकित कुमार कलवार, जिल्ला रौतहट गैर नगरपालिका वडा नं। १ घर भई हाल ठमेल बस्ने २८ वर्षीय राहुलकुमार जैसवाल रहेका छन् ।

त्यस्तै विराटनगर घर भई हाल कालीमाटी बस्ने ३० वर्षीय सन्दीपकुमार मण्डल, काभ्रे जिल्ला चौरीदेउराली गाउँपालिका घर भई हाल ठमेल बस्ने ३६ वर्षीय राजु थापा, धादिङघर भई हाल ठमेल बस्ने ३१ वर्षीय सन्तोष खतिवडा, भारत हिमाञ्चल घर भई हाल काठमाडौं बस्ने ४६ वर्षीय सुशिल जेस्टा, भारत राजस्थान घर भई हाल लाजिम्पाट बस्ने ३१ वर्षीय पवन कुमार शर्मा रहेका छन् ।

त्यस्तै भारत राजस्थान घर भइ  हाल लाजिम्पाट बस्ने ३० वर्षीय सुचित अग्रवाल र भारत मोतिहारी घर भइ हाल जमल बस्ने ४० वर्षीय मुकेश जैसवाल रहेका छन् ।

नेपाल प्रहरीको अपराध महाशाखाका अनुसारले चलाएको अपरेसनका कार्यक्रममा ठमेल, झोंसे लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमध्येलाई छानेर ११ जनालाई मुद्दा चलाउने तयारी भैरहेको छ ।

अनलाइनमार्फत सट्टेबाजीमा संलग्न ती व्यक्तिहरुलाई आइतबार राति काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

उनीहरुले ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सन्जाल प्रयोग गरेर भारतमा भएका बिभिन्न खेलमा सट्टेबाजी गराएको पाइएको प्रहरीले जनाएको छ । उनीहरूसँग ११ थान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

नेपालमा विभिन्न क्रिकेट तथा फुटबलका खेलहरु हुने क्रममा सट्टेबाजीको हुने गरेको समाचार पटकपटक आईरहेका बेला अहिले आईपीएलकै बेला प्रहरीले यीनीहरु पक्राउ पर्नुले ठूलो सफलता हात लागेको मानिएको छ ।

प्रतिक्रिया