

सरकारी निर्णय अवज्ञा गर्ने ११ विद्यालयका सञ्चालक पक्राउ

काठमाडौं – प्रहरीले सोमबार बिहान सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने ११ विद्यालयका सञ्चालकलाई नियन्त्रणमा लिएको छ। घटनाको सप्तरी जिल्लाको हो।
बैशाखभर विद्यालय बन्द गर्न सरकारले दिएको निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि ११ सञ्चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले पटक–पटक सम्झाउँदा पनि विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बताए।
प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, राजविराज नगरपालिकाका प्रमुखसहितको टोलीले अटेर गर्ने विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएको बताइएको छ।
नियन्त्रणामा लिएका ११ जना विद्यालय सञ्चालकहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा राखिएको छ। उनीहरुलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा आजै बस्ने बैठकले निर्णय गर्ने पोखरेलले बताए।
कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो अवस्थामा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो।

