भारतीय सेना प्रमुख नरवणे आज काठमाडौं आउँदै
काठमाडौं– भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणे आज काठमाडौं आउँदै छन्। चार सदस्यीय टोलीका साथ सेनाका विशेष विमानबाट आउने नरवणेलाई मानार्थ महारथीको दज्र्यानी ग्रहण गराइनेछ।
आज केही अनौपचारिक भेटमा व्यस्त रहने उनले विहीबारदेखि शिष्टाचार भेट गर्नेछन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह दिनेछिन्।
समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि विहीबार नै उनको औपचारिक वार्ता हुनेछ।
फर्किने दिन शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।
नेपाल–भारत सीमा विवाद चर्किएको बेला लिम्पियाधुरासहितको नेपालको नक्सालाई लिएर नरवणेले विवादास्पद टिप्पणी गरेका कारण सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ।
नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भारतीय सेनाध्यक्ष नरवणेले आफ्नो नेपाल भ्रमणले दुई देशबीचको सैन्य सम्बन्ध थप बलियो बनाउने दाबी गरेका थिए।