

डल्फिन संरक्षणमा जुटे कैलालीका युवा

कैलाली – कैलालीका नदीमा पाइने एकमात्र स्तनधारी जलचर प्राणी डल्फिन संरक्षणका लागि स्थानीयस्तरबाट थुप्रै प्रयास भएका छन् ।
वर्षायाममा कैलालीका मोहना, पथरिया र काढानदीमा देखिने डल्फिन संरक्षणका लागि स्थानीय युवाले विभिन्न प्रयास गरेका हुन् । युवाको प्रयासमा स्थानीय र प्रदेश सरकार पनि सहयोगीका रूपमा जोडिएका छन् ।
डल्फिन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न कैलालीको भजनी र टीकापुरका युवाले त्रिवेणीधाम धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने अभियानसमेत सुरु गरेका छन् ।
डल्फिन संरक्षणमा लागेका युवाले टीकापुर नगरपालिका -७ ढुङ्गानाटोल, वैदी, कुन्तिपुर र भजनी नगरपालिका-३ दैलेखटोल, नयाँ बस्ती, बर्दवा र वडा नं ८ सोनाफाँटा, खल्लाटोल र काढाढिकको मोहना, पथरिया र काढानदीका डल्फिन क्षेत्रको त्रिवेणीधामलाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन अभियान सुरु गरेको संरक्षणकर्मी बताउँछन् ।
यहाँ डल्फिन पाइने मात्र नभएर टीकापुर-७ सत्तीमा रहेका पदमप्रकाशेश्वर महादेव मन्दिर, सत्ती कर्णाली सामुदायिक वन, ओजुवाताल, टीकापुर उद्यान, वीपी निकुञ्जलगायतका ठाउँ पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेका छन् ।
ुभजनी नगरपालिकामा रहेका छोड्नैया ताल, लौकाभौका ताल, वसन्ता जैविकमार्ग, माशक्ति स्वरुपा मन्दिर, राजी, थारू, कठरिया समुदायका विभिन्न संस्कृति यहाँका पहिचानका चिनारी हुन्, स्थानीय संरक्षणकर्मी तथा डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गाना बताउछन् ।
डल्फिन क्षेत्र तथा त्रिवेणीधामले कैलालीको चिसापानी क्षेत्र, मूलपानी क्षेत्र, बर्दगोरिया मन्दिर, घोडाघोडी तालजस्ता पर्यटकीय क्षेत्रको अवलोकन गर्नका लागि मध्यक्षेत्रको रूप लिनसक्छ । त्यसैले यहाँको विकासमा तीनवटै सरकारको ध्यान जानुपर्ने आवश्यकता छ ।

