पूर्वसभामुख महरापत्नी सीताको निधन
काठमाडौं– पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीताको बुधबार बिहान निधन भएको छ ।
दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई १३ कात्तिकमो दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र श्वासप्रश्वासमा समस्या आएपछि १४ कात्तिकमा हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा राखिएको थियो।
कोरोना भाइरस पोजिटिभ देखिएकी सीतालाई १५ कात्तिकदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
उनलाई माइस्थेनिया नामक रोग १० बर्षदेखि थियो।
महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरैपटक शारिरीक मानसिक यातना दिनुका साथै केही दिन सीतालाई हिरासतमा राखेको थियो।
२९ साउन २०५४ मा रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिरफ्तार गर्न थालेपछि उनी प्रहरीको घेरा तोड्न सफल भएको बताइन्छ।
उनका दुई छोरा दुई छोरी छन्।