

‘वामगठबन्धनका बाचा वर्तमान सरकारले पूरा गर्दैछ’

ओखलढुङ्गा – अघिल्लो निर्वाचनमा बाम गठनबन्धका तर्फबाट जनताका बीचमा गरिएका बाचा वर्तमान सरकारले पूरा गरिरहेको प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले बताएका छन् ।
ओखलढुङ्गाको मानेभञ्ज्याङस्थित भगवती माध्यमिक विद्यालयको शुभ हीरक जयन्ती महोत्सव उद्घाटन गर्दै उनले नेकपा माओवादी केन्द्र र नेकपा एमाले ले संयुक्तरुपमा घोषणा-पत्र जारी गरेर बामगठबन्धनका तर्फबाट जनताका बिचमा गरेका बाचा एमाले नेतृत्वको वर्तमान सरकारले पूरा गरिरहेको बताएका हुन् ।
पार्टी एकता लामो समय नटिकेका कारण माओवादीले सरकारलाई पर्याप्त सहयोग नगरे पनि एमालेले सबै चुनावी बाचा पूरा गर्ने अठोट लिएको मन्त्री गुरुङको भनाइ थियो । केन्द्रमा धरहरा निर्माण, मेलम्चीको पानी राजधानीमा वितरण गर्नेदेखि राष्ट्रिय गौरवका दर्जनौँ आयोजना सम्पन्न गरिसकेको जनाउँदै मन्त्री गुरुङले १ नम्बर प्रदेशमा पनि पूर्वाधार विकासमा उल्लेख्य काम भएको जानकारी दिए ।
ओखलढुङ्गाको समग्र विकास र समृद्धिकोलागि ठुलठुला योजनासहित काम अघि बढिसकेको जिकिर गर्दैै उनले जिल्लाको चौतर्फी विकासमा आफ्नो ध्यान केन्द्रित रहेको बताए । जिल्लाको समृद्धिको लागि सडक, खानेपानी, विद्युत, सञ्चारलगायत विकासमा गुरुयोजनासहित काम अघि बढेको मन्त्री गुरुङको भनाइ थियो ।

