

फ्लोर क्रस गर्ने कर्णालीका चार नेता सांसद र पार्टीबाट हटाउने एमालेको निर्णय

काठमाडौं – कर्णाली प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका चार नेतालाई नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले सांसद र पार्टी सदस्यबाट निकाल्ने निर्णय गरेको छ।
शुक्रबार बालुवाटारमा बसेको बैठकले पार्टीको ह्वीप उल्लंघन गर्दै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका सदस्यहरुलाई कारवाहीस्वरुप पार्टी सदस्य र सांसद पदबाट निश्कासन गरेको हो ।
नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकार अल्पमतमा परेकोले प्रदेश सरकारका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि ३ वैशाखमा बसेको कर्णाली प्रदेशसभाको बैठकमा नेकपा एमाले कर्णाली प्रदेशसभा दलको ह्वीप उल्लंघन गरेकाले चार जनालाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

