

देउवालाई हौस्याउने शशांकको प्रयास: ‘ओलीविरुद्ध संसद्मा फ्लोर क्रस हुन्छ’

काठमाडौं – कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आफ्ना सभापति शेरबहादुर देउवालाई अघि बढ्न सुझाव दिएका छन् । सोमबार नेविसंघ स्थापना दिवसको कार्यक्रममा महामन्त्री डा. कोइरालाले सभापति देउवालाई हौस्याउँदै उक्त प्रस्ताव गरेका हुन् ।
कांग्रेस केन्द्रीय समिति बैठकबाट गत चैत २० मै प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको छ भने वर्तमान सरकारको विकल्प खोज्न अग्रसरता लिने पनि निर्णय गरेको छ ।
तर, पार्टीको केन्द्रीय समितिबाट यस्तो निर्णय गरेका सभापति शेरबहादुर देउवाले त्यो अग्रसरता भने लिएका छैनन् । २७ चैतमा माओवादी केन्द्र र जनता समाजवादीलाई निवासमै डाकेर छलफल गरेका देउवा त्यसयता राजनीतिक छलफलमा समेत क्रियाशीलता देखाएका छैनन् ।
तर देउवाले भने आफूले ओली सरकारको विकल्प चाहेको भए पनि सम्भव नभएको स्पष्टीकरण दिएका छन् । ‘मैले ओलीलाई हटाउन चाहेको छैन भनिँदैछ । चाहेको छु नि किन नचाहनु मैले ?’ आरोप लगाउनेलाई प्रश्न गर्दै देउवाले भने, ‘तर स्योर सट हु्नुपर्छ, स्योर सट है ! यसका विषयमा सल्लाह त हुँदैछ । तर अहिले नै केही हुने अवस्था छैन ।’ उनले प्रचण्डले समर्थन फिर्ता नलिएको र मधेसवादी दल ओलीलाई समर्थन गर्न तयार भएकाले त्यो सम्भव नभएको बताएका छन् ।
सभापति देउवाले यही कुरा पटक पटक दोहोर्याउँदै आएका छन् । तर, महामन्त्री शशांकले भने यसका वाबजुत पनि यो सरकार विस्थापनको संकल्प लिन सभापति देउवालाई आग्रह गरेका छन् । उनले ओलीविरुद्ध उनकै पार्टीबाट संसदमा ‘फ्लोर क्रस’ हुने दाबी गर्दै सभापति देउवालई अघि बढ्न आग्रह गरेका हुन् । शशांकले देशको हितका लागि पनि ओली सरकार राख्नु उचिन नहुने बताए ।

