
कांग्रेस देउवा पक्ष लुम्बिनी प्रदेश सभापतिमा रोज राणा
बुटवल— नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षबाट लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा (रोज राणा) सर्वसम्मत चयन भएका छन् ।
सोमबार भएको प्रदेश अधिवेशनको बन्द सत्रले राणालाई सभापतिमा सर्वसम्मत चयन गरेको अधिवेशन तयारी समितिका संयोजक गेहेन्द्र गिरीले जानकारी दिए ।
सभापतिका लागि प्यूठानका राणा, पाल्पाका माधव नेपाल र रुपन्देहीका डा. दामोदर भुसालले उम्मेदवारी दिएका थिए । नेताहरूबीचको छलफल र सहमतिपछि राणालाई सभापति बनाइएको नेता कृष्ण पोखरेलले बताए ।
राणा यसअघि लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका थिए । उनी हाल प्रदेशसभा सदस्य छन् । अन्य पदाधिकारीको टुंगो लगाउन बाँकी रहेको र रातभर बसेर भए पनि टुंग्याउने तयारी रहेको गिरीले बताए ।
अधिवेशनमा प्रदेशभरका १२ जिल्लाबाट २ हजार २०० भन्दा बढी प्रतिनिधि अधिवेशनमा सहभागी भएका थिए ।
अधिवेशनको उदटनअघि देउखुरीका विभिन्न क्षेत्रबाट सांस्कृतिक झाँकी सहितको र्याली आयोजना गरिएको छ ।



कागजपत्र |
