‘राइजिङ स्टार्स एसिया कप’ का लागि सन्दीपको कप्तानीमा १५ सदस्यीय क्रिकेट टोली घोषणा


काठमाडौं – कतारमा आयोजना हुने ‘राइजिङ स्टार्स एसिया कप’ क्रिकेट प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर १९ देखि २९ सम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि सन्दीपको नेतृत्वमा टोली सार्वजनिक गरेको हो।

कप्तान सन्दीप लामिछानेसँगै टोलीमा बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिशेष गौतम, रासिद खान, लोकेश बम र नन्दन यादव रहेका छन्।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्। त्यस्तै, समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन्।

प्रतियोगिताअन्तर्गत नेपालको खेल तालिका अनुसार नाेभेम्बर २०: नेपाल र भारत ‘ए’ (पहिलो खेल), नोभेम्बर २२मा दाेस्राे खेल नेपाल र यूएई र नोभेम्बर २४ मा तेस्राे खेल नेपाल र पाकिस्तान ‘ए’ बिच हुनेछ । दुवै समूहबाट शीर्ष दुई स्थान हासिल गर्ने टोलीहरू सेमिफाइनलमा प्रवेश गर्नेछन् भने प्रतियोगिताको फाइनल खेल नोभेम्बर २९ मा हुनेछ।

यस प्रतियोगितामा टेस्ट राष्ट्रहरू भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले आ-आफ्नो ‘ए’ टोली मैदानमा उतार्नेछन् भने नेपाल, यूएई र हङकङले राष्ट्रिय सिनियर टोलीसमेत सहभागी गराउन पाउने प्रावधान रहेको छ। यूएईले यसअघि नै आफ्नो टोली घोषणा गरिसकेको छ।

नेपालले यसअघि एसीसी प्रिमियर कपको उपाधि जित्दै राइजिङ स्टार्स एसिया कपका लागि स्थान सुरक्षित गरेको थियो। उक्त प्रिमियर कपमा दोस्रो स्थान हासिल गर्ने यूएई र तेस्रो स्थान प्राप्त गर्ने हङकङले पनि यस प्रतियोगितामा स्थान बनाएका हुन्।

प्रतिक्रिया