सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटना हुँदा एकको मृत्यु, तीनजना घाइते


सोलुखुम्बु – खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

मंगलबार बिहान करिब ८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एक(आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा फिस्टेल एयरमा चालक दलसहित तीनजना सवार थिए । मृत्यु हुनेमा भारतको तमिलनाडु राज्य, चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडु छन् । उनको शव प्रभु एयरको हेलिकप्टरमार्फत बिसुगार्ड, लुक्ला ल्याइएको छ ।

घाइते हुनेहरूमा ४९ वर्षीय सेलिशकुमार पटेल (न्युजिल्यान्ड), फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति र डाइनेस्टी एयरका पाइलट प्रजल केसी छन् ।

घाइतेमध्ये पटेल र प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको छ । डाइनेस्टी एयरका पाइलट केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया