
धरानबाट गाेली चलाई प्रहरीले लियो २१० किलो गाँजासहित ५ जना नियन्त्रणमा
सुनसरी – सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई राउन्ड हवाई फायर गरेर करिब २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।
सोमबार बिहान करिब ३ बजे दुईवटा जिपमा गाँजा लोड गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। गाँजा बोकेका जिपसहित भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको जनाएको छ ।
गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका जिपमा खानतलासी गर्दा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद गरेको थियो।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल र भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर छन्।
त्यस्तै, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र सुनसरीको धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खेल पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार रामसागर बा.१ च ५०३८ नम्बरको जिपका चालक हुन् भने राजकुमार को.१ च ८१८२ नम्बरको जिप चलाउँदै आएका थिए । पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
