
अविरल वर्षापछि अवरुद्ध अधिकांश राजमार्ग सञ्चालनमा, केही खण्ड खुलाउने प्रयास जारी
काठमाडौं – चार दिनको अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा लेदो पन्सिएसँगै देशभरका अवरुद्ध अधिकांश मुख्य राजमार्ग र सडक खण्डहरू पुनः सञ्चालनमा आएका छन्। सोमबारदेखि मौसममा सुधार आएसँगै सडक विभाग र नेपाल प्रहरीले पहिरो पन्छाएर यातायात सुचारु गराउने कामलाई तीव्र पारिएका हुन्।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको वर्षाले राष्ट्रिय राजमार्गहरूका विभिन्न स्थानमा पहिरो खस्ने, लेदो जम्ने र सडक भासिने समस्या देखिएको थियो। हाल पृथ्वी राजमार्ग अन्तर्गत धादिङको च्याल्से खण्डमा ठूला ढुङ्गा र पहिरो खसेकाले सडक खुलाउने प्रयास भइरहेको छ भने नारायणगढ–मुग्लिन सडकका केही ठाउँमा सडक भासिएकाले एकतर्फी मात्र गाडी चलिरहेका छन्।
त्यस्तै, बिपी राजमार्गका माम्ती, पिप्ले र चौकीडाँडालगायत स्थानमा पहिरो र डाइभर्सन बगेकाले सडक बन्द रहेको र थप क्षति नभए मङ्गलबार साँझसम्ममा खुल्ने सम्भावना रहेको छ।
कान्ति राजमार्ग र मध्यपहाडी राजमार्गका केही खण्डमा पहिरो पन्छाउने काम जारी छ भने हुलाकी राजमार्गको ठोरी–माडी खण्डमा हल्का सवारी मात्र एकतर्फी सञ्चालनमा ल्याइएको छ। काठमाडौंलाई तराईसँग जोड्ने अन्य मुख्य मार्ग बन्द भएपछि त्रिभुवन राजपथलाई वैकल्पिक मार्गका रूपमा ११ मिटरसम्म लम्बाइ भएका सवारीका लागि तोकिएको समयतालिका अनुसार खुला गरिएको छ।
पूर्व–पश्चिम राजमार्ग र काठमाडौं उपत्यकाका कोरिडोरहरूमा पानीको बहाव घटे पनि सतर्कताका साथ यातायात सञ्चालन भइरहेको जनाइएको छ। मौसम पूर्ण रूपमा सफा नभएसम्म र पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न सडक विभाग र नेपाल प्रहरीले अनुरोध गरेका छन्।



कागजपत्र |
