बालेनले टेलीप्रम्प्टर हेरेर भाषण गरे


काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गरेपछि यसबारे व्यापक चर्चा परिचर्चा र टीकाटिप्पणी भइरहेका छन् ।

बालेनको भाषणलाई लिएर केहीले सर्मथन र केहीले विरोध गरिरहेका छन् । धेरैजसोले बालेनले समय सान्दर्भिक विषयको उठान विश्व मञ्चमा गरेको भनेका छन् । केहीले प्रधानमन्त्रीले विषय उठान राम्रो गरे पनि प्रस्तुत गर्ने शैली ठीक नभएको, नियोगका केही कर्मचारीलाई कार्यक्रममा सहभागी गराएर हुटिङ गर्न लगाएको भन्दै आलोचना भइरहेको छ ।

तर पनि विश्व मञ्चमा नेपाल जस्तो अल्पविकसित राष्ट्रले आफूले जे जस्तो समस्या भोगिरहनु परेको छ त्यसलाई प्रस्तुत गरेर प्रधानमन्त्री बालेनले विश्वकै ध्यान नेपालतर्फ खिचाउन सफल भने भएका छन् । त्यसमा पनि नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशील संयन्त्र बनाउनुपर्ने प्रस्ताव गरे । यो प्रस्तावलाई आगामी दिनमा भारत र चीनले कसरी लिन्छन् त्यो भने प्रतीक्षाकै विषय बनेको छ ।

भूराजनीतिक यथार्थलाई सम्बोधन गर्ने क्रममा उनले नेपाल, भारत र चीन सम्मिलित ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ को अत्यन्तै परिपक्व र व्यावहारिक प्रस्ताव अघि सारे । ‘हिमनदीहरू र बाढीहरू छाप र राहदानी बोकेर यात्रा गर्दैनन्,’ भन्दै उनले बेइजिङ र नयाँ दिल्लीबीचको सामरिक अविश्वासलाई चिरेर दुई अर्ब मानिसको जीवनरेखा मानिएको हिन्दुकुश हिमालयको सुरक्षाका लागि भूउपग्रह तथ्यांक आदानप्रदान र पूर्वसूचना प्रणाली विकास गर्न आह्वान गरे ।

करिब १३ मिनेट अंग्रेजी भाषामा उनले दिएको मन्तव्यको नेपालमा रास्वपा कार्यकर्ता र समर्थकले निकै प्रशंसा गरेका छन् । उनले नहेरी अंग्रेजीमा फरर भाषण गरेको भन्दै उनका समर्थकले सामाजिक सञ्जालमा चर्चा गरिरहेका छन् । खासमा बालेनले टेलीप्रम्प्टर हेरेर आफ्नो मन्तव्य दिएका हुन् ।

पहिलोपटक नेपाली नेताले टेलीप्रम्टर प्रयोग गरेको चर्चा गरे पनि त्यो वास्तविकता र सत्य भने होइन । यसअघिका प्रधानमन्त्री केपी ओलीले पनि आफ्नो महत्वपूर्ण सम्बोधनहरूमा यसको प्रयोग गर्ने गरेका थिए । प्रधानमन्त्री बालेनले पनि यही माध्यममार्फत आफ्नो लिखित मन्तव्यलाई मौखिक रूपमा साझा गरेका हुन् ।

प्रतिक्रिया