
आजदेखि चलनचल्तीमा हजारका नयाँ नोट
काठमाडौं – नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा सुरक्षण विशेषतासहितको १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट बिहीबारदेखि चलनचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार ‘सिरिज २०२५’ अन्तर्गतको नयाँ नोट साविककै आकारमा तर रङमा परिवर्तन गरी जारी गरिएको हो। नयाँ नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ।
नोटको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप तथा ‘१०००’ अंकित पानीछाप राखिएको छ। दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने गरी रोमन अक्षर ‘एम’ र तेर्सा रेखासमेत राखिएको छ।
नोटमा सीधा हेर्दा सुनौलो र ढल्काउँदा हरियो देखिने भगवतीको चित्र तथा सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिने चलायमान सुरक्षण धागो राखिएको राष्ट्र बैंकले जनाएको छ। नयाँ नोटमा राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
नोटको पृष्ठभागमा चितवनस्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ। साथै, सात प्रदेशको प्रतिनिधित्व गर्ने सातवटा लालीगुराँसका चित्र र हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृति समावेश गरिएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटको संकेत नम्बर ९२०००००१ बाट सुरु गरिएको छ। यसअघि २०७७ साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइएको ‘सिरिज २०१९’ को १ हजार रुपैयाँको नोटको संकेत नम्बर ६८२००००१ देखि ९१४४०००० सम्म जारी गरिएको थियो।



कागजपत्र |
