बाढी पहिरोका कारण देशका विभिन्न राजमार्ग प्रभावित


काठमाडौं – बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीको विवरण अनुसार काभ्रे, रसुवा, नुवाकोट र धादिङका सडकमा अवरोध तथा जोखिम देखिएको छ ।

काभ्रेमा बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रहरीले असोज ६ गते साँझदेखि बिहानसम्मको अवस्था हेरी सवारी सञ्चालन गरिने जनाएको छ ।

त्यस्तै, रसुवामा मुख्य राजमार्गका विभिन्न स्थानमा बाढीका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

नुवाकोटमा टोक्खा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घेचेटखोला क्षेत्रमा सम्भावित बाढी तथा पहिरोको जोखिम रहेको छ । उक्त क्षेत्रमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

नुवाकोटकै विदुर नगरपालिका–१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध रहेको जनाइएको छ ।

यस्तै, धादिङको पृथ्वीलोकमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला र शीतलबजार क्षेत्रमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा रहेको छ ।

प्रहरीले बाढी, पहिरो तथा मौसमको अवस्था हेरी आवश्यक सतर्कता अपनाएर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।

819387532_1402255511346318_472419207529528775_n

 

प्रतिक्रिया