
३३ किलो गाँजासहित तीन कारोबारी पक्राउ
रौतहट – पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलमा प्रहरीले आइतबार राति दुई राउन्ड हवाई फायर गर्दै करिब ३३ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ।
आइतबार राति करिब १० बजे गाँजाको अवैध कारोबार भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय पेटर्वा सुगौलीबाट इन्स्पेक्टर समुन्नत अधिकारीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार कारोबारीलाई नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीमाथि अवरोध सिर्जना गरेपछि स्थिति नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गरिएको हो।
पक्राउ पर्नेमा स्थानीय नन्दलाल सहनी, महेश सहनी र भुटी सहनी रहेका छन्। उनीहरूको साथबाट करिब ३३ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर लागूऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो समय पर्सा र बारा जिल्लाको बिभिन्न नाका हुँदै भारत तर्फ तस्करहरूले गाँजा ढुवानीमा तिब्रता दिएका छन्।



कागजपत्र |
