
धनुषाबाट १९७ ग्राम खैराे हेराेइनसहित २ काराेबारी पक्राउ
धनुषा । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषाबाट खटिएको संयुक्त टोलीले आज बिहान धनुषाको मिथिला नगरपालिका-२ नक्टाझिजस्थित जनकपुर-ढल्केवर सडकखण्डबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो ।
सबैला नगरपालिका-१० खरियानी टोलका ३४ वर्षीय राकेश चमार र भारतको मधुवनी जिल्ला कमलाबारीपुरी-१३ निवासी २७ वर्षीय सञ्जितकुमार रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
उनका अनुसार जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ज९प ५६९७ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा मोटरसाइकल पछाडि सवार रामको साथमा रहेको कालो प्लास्टिकको झोलाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको हो ।
बरामद पदार्थको तौल गर्दा १९७ ग्राम ४४० मिलिग्राम रहेको प्रहरी नायब उपरीक्षक खनालले बताए । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको उनले उल्लेख गरे ।
प्रहरीका अनुसार पक्राउ परेका भारतको मधुवनीबाट लागुऔषध खैरो हेरोइन खरिद गरी मधेस प्रदेशका विभिन्न जिल्लामा बिक्रीवितरण गर्ने कार्यमा संलग्न रहेको आशंका गरिएको छ ।



कागजपत्र |
