
भोटेकोशी बाढी अपडेटः मृतकको सङ्ख्या ५३८ पुग्यो, चितवनमा मात्रै भेटिए २२१ शव
काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म ५ सय ३८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
बाढीले बगाएर सबैभन्दा धेरै चितवनमा २ सय २१ जनाको ज्यान गएको छ। यसैगरी नवलपरासी पूर्वमा १ सय ३४, गोरखामा विभिन्न मानव अङ्गसहित ४६, नुवाकोटमा ३७ र धादिङमा ३३ जनाको शव फेला परेको छ। तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको मृत्यु भएको छ। विपद्मा परी ७३ जना घाइते भएका छन्। जसमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना छन्।
बाढीपछि ९ सय ७७ जना अझै सम्पर्कविहीन छन्। हराउनेमा ठूलो सङ्ख्या विदेशी नागरिकको छ। ५ सय १७ जना विदेशी नागरिक र नेपाल घुम्न आएका विदेशमा बस्ने १ सय २७ जना नेपाली सम्पर्कमा छैनन्। जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) बाट प्राप्त विवरणअनुसार रसुवाका १ सय ६१, मकवानपुरका ६६ र नुवाकोटका १ जना हराइरहेका छन्।
विपद्मा खटिएका सुरक्षाकर्मी र कर्मचारीसमेत बेपत्ता छन्। नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन छन्। भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना कर्मचारीको अवस्था अज्ञात छ।
बेपत्ताको खोजी र प्रभावितको उद्धारका लागि १४ हजार ८ सय २९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ६ हजार ६ सय ९८, नेपाल प्रहरीका ४ हजार ४ सय ७३ र सशस्त्र प्रहरीका ३ हजार ६ सय ५८ जना खटिएका छन्।
हालसम्म २५ जना विदेशी नागरिकसहित ३ हजार ७ सय ४२ जनाको उद्धार भएको छ। उद्धार र राहतका लागि नेपाली सेना र निजी कम्पनीका गरी ७८ वटा हवाई उडान भएका छन्। सरकारले राहतस्वरुप रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद उपलब्ध गराएको छ।
प्रभावित क्षेत्रमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र ब्ल्याङ्केटलगायत सामग्री बोकेका १० वटा ट्रक पठाइएको छ। थप २० ट्रक खाद्य तथा गैरखाद्य सामग्री त्यसतर्फ पठाइएको छ भने प्रभावित क्षेत्रमा सञ्चार सेटहरूसमेत पुर्याइएको छ। हेलिकप्टरमार्फत ४ वटा उडान गरी राहत सामग्री ढुवानी गरिएको छ।
इन्धनको अभाव हुन नदिन नुवाकोटमा पर्याप्त मौज्दात राखिएको छ। त्यहाँका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात छ। नुवाकोटमै ९ हजार लिटर हवाई इन्धनसमेत राखिएको छ। थप इन्धन आवश्यक परे पठाउन तयारी अवस्थामा राखिएको छ।
प्राधिकरणले बेपत्ता विदेशी नागरिक, विदेश बस्ने नेपाली, उपचाररत व्यक्ति र हेलिकप्टरबाट उद्धार गरिएकाको विवरण ‘आफ्नो फेसबुक पेज र वेबसाइटमा हेर्न सकिने’ जनाएको छ।



कागजपत्र |
