संघीय संसद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक बस्दै


काठमाडौं – संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ।

अर्थ, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्न लागेको हो।

अर्थ समितिको बैठकमा उपसमितिको प्रतिवेदन प्रस्तुत गरी छलफल गर्ने कार्यसूची छ। बैठक बिहान ११ बजे बस्नेछ।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा ‘मुस्लिम आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल’ हुनेछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’मा सैद्धान्तिक छलफल हुनेछ। दिउँसो १ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाबारे छलफल हुनेछ। बैठक बिहान १० बजे बस्नेछ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा देशको वर्तमान अवस्था र समसामयिक विषयमा छलफल हुनेछ। समितिको बैठक दिउँसो साढे २ बजे बस्नेछ।

प्रतिक्रिया