५ लाख घुससहित आन्तरिक राजस्वका कर अधिकृत पाल पक्राउ


सिरहा — आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कर अधिकृत युवराज पाललाई ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

स्रोतका अनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फूल अडिट) गर्ने क्रममा पालले आफूभन्दा माथिका कर अधिकृत प्रकाश राई सहित अन्य व्यक्तिलाई समेत मिलाउनुपर्ने भन्दै ५ लाख रुपैयाँ घुस मागेका थिए । घुस दिएपछि मात्र अडिट प्रक्रिया अगाडि बढाइने भन्दै कम्पनीसँग आवश्यक सम्पूर्ण कागजात पेस गराइएको आरोप छ।

अडिटका क्रममा कार्यालयले कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँसम्म दायित्व पर्ने जनाएको थियो। कम्पनीले थप कागजात पेस गर्दै जाँदा दोस्रो चरणमा थप ३० देखि ३५ लाख रुपैयाँसम्म कर दायित्व बढ्न सक्ने बताइएको थियो।

यसैबीच कर अधिकृत पालले १२ लाख रुपैयाँ दिए सबै समस्या समाधान गरिदिने प्रस्ताव राखेको र कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि रकम घटाएर ५ लाख रुपैयाँमा सहमति गर्न खोजिएको आरोप छ।

घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान अघि बढाएको छ।

 

प्रतिक्रिया